मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्वारा २०६५ साल साउन ९ गतेदेखि प्रसारण आरम्भ थालेको रेडियो रोल्पा ९३.८ मेगाहर्ज रोल्पाकै पहिलो सामुदायिक रेडियो हो । २०६७ साउन ९ गतेदेखि अग्लो स्थानमा रहेको खुमेल गाविसको सातदोबाटो डाँडाबाट रिले प्रसारण थालेको छ । मिति २०६७ फागुन २७ गतेदेखि www.radiorolpa.org नामक वेभसाइट मार्फत संसारभर आफ्नो प्रसारण सेवा विस्तार गरेको छ । रोल्पा लगायत आसपासका जिल्लाहरुमामात्र सुनिने रेडियो रोल्पा अवदेखि राप्ती, भेरी, कर्णाली, धौलागिरी लगायत विभिन्न ३५ भन्दा बढी जिल्लाहरुमा सुन्न सकिन्छ । पाँच सय वाट क्षमता रहेको सामुदायिक रेडियो रोल्पा स्थापनामा सामुदायिक सहयोग स्वरुप विद्यालयका साना विद्यार्थीले टिफिनबाट वचाएर ३ रुपैयाँसम्म रेडियो स्टेशनमा आएर सहयोग गरेका छन । व्यक्तिगत रुपमा ३ रुपैयाँदेखि ३० हजार सम्म सहयोग रहेको छ । त्यस्तै संस्थागत रुपमा ३ लाख ६० हजार सम्म सहयोग रहेको छ भने राष्ट्रिय तथा स्थानीय संघसंस्था विभिन्न निकायले रेडियोलाई आवश्यक पर्ने सामग्रीहरु समेत उपलब्ध गराएको छ । रेडियो रोल्पाले सहयोगी सबै शुभेच्छुक, सहयोगदाता, स्रोता, विज्ञापनदाता, सहकर्मी निकायलाई रेडियो रोल्पालाई यस स्थानमा ल्याई पुर्याएकोमा धन्यवाद ज्ञापन गरेको छ । स्थानीय मगर भाषा, महिला, दलित, मानवअधिकार, स्वास्थ्य, वातावरण, कृषि लगायतका जनचेतनामुलक कार्यक्रमबाट स्रोतालाई सचेतना अभिवृद्धि गर्दै आएको छ । रेडियो रोल्पाले संविधान निर्माण र शान्ति प्रक्रियालाई सहयोग पुर्याउने कार्यक्रम समेत गरिरहेको छ । पाचैा वर्ष प्रवेसको अवसरमा रेडियोले मानवअधिकार, सामाजिक न्याय, शान्ति र परिवर्तनका लागि रेडियो रोल्पासंगसगैं अभियानका साथ वार्षिक उत्सव मनाएको छ ।
