लिबाङमा शान्ति समिति गठन
रोल्पा । चैत १३ गते
लिबाङमा आज भएको भेलाले गाविस स्तरीय स्थानीय शान्ति समिति गठन गरेको छ । लिवाङ गाविसका निबर्तमान गाविस अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा आज लिबाङमा बसेको भेलाले एकिकृत माओबादीका नबराज आचार्यको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरीय स्थानिय शान्ति समिति चयन गरेको हो ।
समितिका अन्य सदस्यहरुमा कांग्रेसका नुनराम केसी, एमालेका नन्दकुमार आचार्य, राप्रपाबाट प्रेमबहादुर डागी, राजमोबाट टंक बहादुर महरा, राप्रपा नेपालका खिमबहादुर केसी, नेपाल परिबार दलका लालबहादुर कवर, पत्रकार राजेश बुढाथोकी, द्धन्द्धपिडित महिला जनजातीबाट निमा थापा र गाविस सचिब रामु केसी सदस्य सचिब रहनुभएको छ । स्थानिय शान्ति समिति रोल्पाका कार्यलय सचिब गिरीराज महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा स्थानिय शान्ति समिति रोल्पाका संयोजक मेघनाथ विष्ट र सदस्य खेमबहादुर बुढाले कार्यक्रमको उद्देश्य, शान्ति समितिको काम कर्तव्य र अधिकार बारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको सन्चालन इश्वरी जिएमले गर्नुभएको थियो ।